साहित्यशास्त्र

भाषा, कला, साहित्य, संस्कृति र विचारको लागि साहित्यशास्त्र डटकम

गृहपृष्ठ › कविता
कविता

धनी मान्छे

आकाश छुन खोज्ने
महलहरू छन्—

जसका प्रत्येक इँटाले
कसैको निसासो
थुनेका छन्।

मार्बल र ग्रेनाइटको
चिल्लोपनभित्र
करुणाको अनुहार
कतै हराएको छ।

सहानुभूतिको खरानीमाथि
अहङ्कारका पाइलाहरू टेकेर,
अरूको विवशतालाई
आफ्नो सफलताको
सिँढी बनाउनेहरू—

धनी होइनन्।

धनी त ऊ हो,

जो
एकछाक भोजनसँगै
सन्तोषको उज्यालो पनि खान्छ।

नुन नभएको भुटुनमा समेत
आत्मीयताको स्वाद भेट्छ।

आफ्नो हात
रित्तो भए पनि

मन
भरिपूर्ण राख्न जान्दछ।

‘म’ लाई बिर्सेर
‘हामी’ उच्चारण गर्न जान्ने ओठहरू,

अर्काको आँसु पुछ्न
अघि सर्ने हातहरू,

र

अभावभित्र पनि
आशाको दीप
बालिरहने हृदय—

यिनै हुन्
वास्तविक सम्पत्ति किनकि,

महलको उचाइले
मानिसको कद
नाप्दैन।

तिजोरीको गहिराइले

आत्माको मूल्य
तोक्दैन।

धनी त ऊ हो—

जसको विवेक
बिक्दैन।

जसको करुणा
सुक्दैन।

र…

जसको सम्पत्ति

बैंकको खातामा होइन,

मानिसहरूको
मनमा
जम्मा भएको हुन्छ।

अक्षर आकार
बुद्धि सुवेदी
कविबारे
बुद्धि सुवेदी

उदालगुरी, असम, भारत

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.