नदी एक नदी हो
कुनै एक रात,
निस्चिन्त बगिरहेको नदीले
पहाडको काखमा सुतेर
एउटा दुःस्वप्न देख्यो
र दिउँसै उन्मत्त भएर
पार गर्यो साविक इमान्दारिताको हद ।
अरुबेला,
नदी केवल नदी थियो
वारिपारि हरिया घाँसका बुट्यानहरु
घरीघरी निहुरिदै
पानीलाई छुन खोज्दै, उठ्दै गर्थे
उसै गरी जिस्किन्थे मान्छेहरु
र मान्छे निर्मित घरहरु,
गाडी, पुल, सडकहरु
ठुलाठुला सुरुङ समेत ।
नदी ! तिमी यतिमै रिसाउछौँ ?
एकै झोँकमा
मान्छेहरुले खटाइदिएको सिमा तोडेर
खुव बहादुरी देखायौ,
सधैँ बगीरहने पवित्र जलमा
हिमालको ताप र बादलको आँशु मिसाएर
धुमिल बाढी बनायौ,
बगायौ सबै चिज एकैपटक
ढुंगा, रुख, घरहरु,
ससाना अवोधहरुका खेलौना
र खेलौना समाउने हातहरु,
मज्दुरहरुका औजार
र औजार बोक्ने काँधहरु,
मेटायौ आफ्नै किनार
आखिर किनार नभएको के नदी !
ज्यादै आवेग र महत्वकांक्षाले
मेटिन्छ आफ्नै अस्तित्व
र नदी अब नदी रहेन ।

