कविता
मनोभाव
साथी हो साथमै हिँड्छ
साथी हुँ हिंड्छु साथमा
बोल्छौं हृदय खोजेर
राखी विश्वास पातमा।
अरूका मित्रले जस्तै
तान्लान् लाग्दैन तैपनि
धोका देलान् कतै ठानी
सतर्क हुन्छु मैपनि।
के थाहा कसको भित्र
कस्तो छ जानिने भए
छामेर मात्र सम्बन्ध
गासिन्थ्यो गासिँने भए।
भित्र भित्रै कतै कैंची
चल्दैछ कि म जान्दिन
आफ्नु पोको दरो बाँद्छु
कुरौटे हुन मान्दिन।
सुदामा जसरी मैले
खेलेका जति छन् सखा
लाग्छन् श्रीकृष्णझै जम्मै
बाहिर अनि भित्रका।
तान्दैनन् कहिल्यै खुट्टा
हात दिन्छन् परे सबै
भलो चिताउँने मात्रै
साथी छन् साथमा अझै।
थाहाछ आँतको दाइ
छुट्टिन्छ जान्दछु तर
स्नेह छुट्टिन सक्दैन
बरु टुट्ला हिमालय।
हो यस्तै मित्र हुन् लाग्छ
पर्दा साथ दिने सबै
एक आपस होस् माया
नछुटोस् जिन्दगीभर।

