साहित्यशास्त्र

भाषा, कला, साहित्य, संस्कृति र विचारको लागि साहित्यशास्त्र डटकम

ईश्वरको अस्तित्व र वाद विवाद

केही दिन अघि सामाजिक सञ्जालमा एकजना प्रवर साहित्यिकले भगवानबारे लेखेको एक पोस्टमा मैले भयवादको सिद्धान्त उद्धृत गर्दै “भगवान मानिसले डरले सृष्टि गरेको एक काल्पनिक धारणा हो न कि वास्तविकता हो।” भनेर टिप्पणी गरेको मात्रै थिएँ एकजना कट्टर ईश्वरवादीले मलाई दायाँबायाँ नहेरी भक्कु गाली मात्रै गरे। बाफरे! के के भने भने मलाई। नास्तिक निट्से, असुर, पाखण्डी, अल्पज्ञानी, हिन्दुविरोधी, वामपन्थी, प‍ोङ्गापण्डित आदि थुप्रै विशेषणले मलाई विभूषित गरे। मेरो दृष्टिकोणलाई केलाउँदै नकेलाई केवल आफ्नो दृष्टिकोण मात्रै अकाट्य सत्य ठानेर उफ्रिरहे। यति आक्रामक थिए कि छेउमा भेटे मलाई सायद झम्टिने नै थिए होलान्। त्यो भक्ति थियो कि असहिष्णुता थियो मैले ठम्याउन सकिन।
पृथ्वीमा ईश्वरको अस्तित्व स्विकार्ने जति छन् अस्विकार गर्ने पनि उत्तिकै छन्। यो अनादि कालदेखि आजसम्म कुनै हल बिना केवल बहसको विषय बनेको एउटा ठूलो धार्मिक पक्ष हो। त्यसैले गर्दा ईश्वरको अस्तित्व लिएर गहन चर्चा भएका धेरै दर्शनको जन्म भयो।

छवटा ऑर्थोडॉक्स स्कूल न्याय, वैशेषिक, सांख्य, योग, मीमांसा र वेदांतमाथि खडा भएको भारतीय दर्शनमा द्वेतवाद र अद्वैतवादको जन्म पनि ईश्वर अथवा परमसत्यलाई लिएरै भएको हो। एक पक्षले प्रकृति र पुरुषलाई महत्त्व दिएकोछ भने अर्का पक्षले बिना ईश्वर केही नै कल्पना गर्न नसकिने विचार राखेका छन्।

पृथ्वीमा अनुसरण गरिने प्रायःजसो धर्म (पन्थ) कुनै न कुनै संस्थापकले स्थापित गरेको विपरीत सनातन धर्म कसैले स्थापना गरेको होइन। कसैले मनुकालिन, कसैले नब्बे हजार बर्षदेखि त्रिदेवलाई सृष्टिको आधार मानेर सनातन समाज विभिन्न देवदेवीलाई आराध्य मान्दै आएका छन् भनेका छन् । यसको आधार आस्था हो। यो आस्था पनि विश्वास र अन्धविश्वासको संमिश्रणले युक्त छ।


जति पनि दर्शन छन् , आत्मा र परामात्मा वा जीव र ईश्वर सम्बन्धित विषयमा भेटिएका, सबै नै आआफ्नो ठाउँमा सबल जुक्ति र तर्क लिएर खडा छन् । ईश्वर,आत्मा, शरीर, ईश्वरको अस्तित्व, जीवनको अर्थ र मूल्य, संस्कृतिक परम्परा, मोक्षको धारणा, ज्ञान, नैतिकता, प्रकृति, ब्रह्माण्ड आदि विभिन्न विषय साथै माया, भ्रम, निस्सारता, रहस्यमय दुनियाँ आदिको बारेमा दिएका आआफ्ना धारणा र सिद्धान्तहरूले दह्रो खुट्टा टेकेका छन् – हल्लाउँनै नसकिने। कसले कुन दर्शनमा विश्वास गर्छ , कति यी मतवादसँग सहमत छन् त्यो आस्तिक र नास्तिकले भरिएको यो दुनियाँ देखेरै थाहा लाग्छ। महाकुम्भमेलामा जति आस्थावान भेला भए त्यति नै आस्थाहीन वा भ्रमित मान्छे बाहिर पनि छन्।

शंकराचार्यले ब्रह्मा र आत्मा, माया र भ्रम र मोक्ष नै जीवनको परम अर्थ हो भनेर सम्पूर्ण आर्यावर्तमा स्थापित गरेर अनेश्वरवादको एकप्रकारले उन्मुलन गरेको इतिहास पनि हाम्रै हो ।शंकराचार्यले ब्रह्मा र आत्मा, माया र भ्रम र मोक्ष नै जीवनको परम अर्थ हो भनेको दर्शन जति स्विकार्य छ उत्तिकै स्विकार्य कपिलमुनिको साङ्ख्य दर्शनको प्रकृति र पुरुषको समन्वयमा सृष्टि भएको यस ब्रह्माण्डमा मोक्षको लागि अन्तर्मुखी हुने धारणा पनि स्विकार्य छ। नागार्जुनको शुन्यवाद र चार्वाकको भोगवादको धारणालाई विश्वमा उत्तिकै आदर गरिन्छ। बृहस्पति द्वारा प्रतिपादित चार्वाक दर्शनमा आत्मा र परमात्माको धारणा नै छैन। जे छ सबै मान्छेको जीवित कालमै छ। यस दर्शनले वेदलाई पनि नकारेको छ। यसको अनुसार तर्क र अनुभव नै ज्ञान अर्जन गर्ने बाटो हो र जीवनको उद्देश्य केवल सुख आर्जन गर्नु हो।उत्तर आधुनिक कालमा पनि स्थापित सोच विचारको विपरीत गएर डेसमन्ड मारिँस, सिहेर, फ्युर्डि जस्ता दार्शनिकले डरलाई जीवनको महत्त्वपूर्ण तत्व मान्दै ईश्वर र सन्सारलाई परिभाषित गरेका छन् । भारत तथा विश्वका निकै देशमा धार्मिक विचारलाई प्रभावित पार्ने अर्को एक दार्शनिक चिन्तन ओसोले पनि छाडेका छन्। उनले ईश्वरलाई खोज्न अन्तर्मुखी हुनुपर्छ भन्ने धारणालाई जोड दिएका छन्। उनको भनाइमा ईश्वरलाई बाहिर खोज्नु मूर्खता हो अनि ईश्वरलाई अनुभव गर्न जुक्ति, तर्क अथवा ज्ञान होइन प्रज्ञाको आवश्यकता पर्छ, जसलाई बौद्ध दर्शनमा निर्वाण पनि भनिन्छ। उनका लाखौँ अनुयायी पनि छन्। उनको भनाइ अनुसार भगवान प्राप्त गर्न ज्ञान, बुद्धि अथवा तर्क होइन “अहम् ब्रह्मास्मी” अथवा “तत्वमसी” को मार्ग हुँदै अनुभव गर्न सकिन्छ। जुन अनुभव अनिर्वचनीय हुनेछ, जसलाई प्रकाश गर्न सकिने छैन ,कुनै भाषा अथवा शब्दले वर्णन गर्न सकिने छैन, जसरी मिठाइ खाएर अबोला लाटाले गुलियो भनेको कस्तो स्वाद हो भन्न सक्दैन। केवल अनुभूत मात्र हुन्छ। यो मानसिक स्तर ज्ञान, बुद्धि अथवा तर्कको माथि हुन्छ। त्यहाँ केवल मौनता र प्रशान्ति मात्र हुन्छ।

उता पश्चिमी मुलुकमा क्रिश्चियन पन्थको विस्तार पछि फ्रेडरिक निट्से, सोपेनहेयर, सार्त्रे आदि दार्शनिकले जीवन र जगतको अस्तित्वमा ईश्वरको भूमिका नै अस्विकार गरेर अस्तित्ववाद, निहिलिज्म, एबसर्डिटी जस्ता विचार राखेका छन् ।

भारतीय दर्शनमा जसले जे खोज्न चाहन्छ उसले त्यही खोजेर भेट्ने भण्डार लुकेको छ। के छैन यिनमा? ईश्वर खोज्नेलाई ईश्वर , आफैँलाई खोज्नेलाई अन्तरात्मा, ज्ञान खोज्नेलाई ज्ञान, विज्ञान खोज्नेलाई विज्ञान, तार्किकलाई जुक्ति तर्क, नास्तिकलाई शून्यता र निस्सारता, वहिर्मुखीलाई साधन, अन्तर्मुखीलाई दृष्टि, पूजकलाई मन्त्र, साधकलाई तन्त्र, सबै पाइन्छन्। अर्को खास कुरा हो स्वातन्त्र्य- प्रतिपालनको खुकुलोपन। नीतिनियम नमानेपनि, पूजापाठ नगरेपनि, मठ मन्दिर नगएपनि, ईश्वर प्रति आस्था नभए पनि जबसम्म उसको धर्मान्तरण हुँदैन तबसम्म ऊ सनातन अथवा हिन्दु नै भएर रहन्छ। केही सामाजिक दण्ड वा सास्तीको प्रावधान छैन। भएको भए राम्रो हुने थियो होला सायद! कमसेकम सनातनी एकताको धारावाहिकता रहने थियो होला, जात-भातको कुरीति कम हुने थियो होला।

यो लेखको मैझारो मार्नु अघि एउटा कुरा नभनी सकिदैन। जबदेखि धर्म अथवा पन्था शासकको हातको हतियार बन्यो, एक श्रेणीको लागि दुधालु गाईजस्तो बन्यो यसले आफ्नो धर्म नै हरायो। आमूल परिवर्तन भयो। मूल, शाखा, प्रशाखा, सबै प्रदूषित भए। विभाजनको कारण बन्यो। व्यापारको ठूलो जरिया बन्यो। हिंसाको झिरिमिटीमा झिल्काको कण बन्यो । सबभन्दा ठूलो डर पृथ्वीका शान्तिकामीलाई यो छ कि धर्म कतै फ्राङ्केनस्टाइनको त्यो दैत्यजस्तो सङ्हारक नै बनिहाल्छ कि- जसले आफ्नै स्रष्टाको विनाश गर्नसक्छ।

मिलन बोहोरा
लेखकबारे
मिलन बोहोरा

विश्वनाथ, असम

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.