साहित्यशास्त्र

भाषा, कला, साहित्य, संस्कृति र विचारको लागि साहित्यशास्त्र डटकम

गृहपृष्ठ › काव्य
काव्य

कठपुतलीकाे जीवन

हेर न कठपुतलीलाई
कठपुतलीका पखेटा हुँदैनन्
अन्धकारकाे सिंहासनमा बसेर
आफूलाई भगवान घाेषणा गर्दै
अदृश्य हात
कठपुतलीकाे काठकाे देह
धागाेले बाँधी
हल्लाउँछ
बेहिसाब हल्लाउँछ

आकाशमाथि औंलाहरु चलिरहन्छन्
आँखामा आकाशकाे सपना सजाएर
घाँटीमा लाचारीकाे हस्ताक्षर झुण्डाएर
मञ्चमा कठपुतली नाचिरहन्छ
मानौँ पराधीनतालाई
स्वतन्त्रता मानी भव्य उत्सव मनाइरहेकाे हाे
भीड कराइरहन्छ
हाँसिरहन्छ
र ताली बजाइरहन्छ
भीडलाई नाचकाे कारण चाहिदैन
मात्र ताल मिले पुग्याे
कठपुतलीकाे सानाे आकाश मरिरहन्छ
र त्याे माैन मृत्युकाे चिच्याहटलाई
तालीकाे आडमा लुकाइन्छ
धागाे मुस्कुराउँदै
उसकाे सपनाकाे ढाेका थुन्छ
थाहा छैन कसैलाई
कठपुतलीलाई नचाइएकाे हाे कि
भयले नाचिरहेकाे हाे

कति कठाेर छ
यो अदृश्य कैदखाना
जसका फलामका शलाका छैनन्
तर आत्मा
अदृश्य धागाेमा कैद छ
जसका भित्तामा अन्धकार पाेतिएकाे छ
र त पर्दापछाडिका नाङ्गिएका हात देखिदैंन
मात्र आदेश देखिन्छ
र यही कैदखाना नै
उसलाई आफ्नो घर लाग्न थाल्छ

हामीभित्र पनि
धागाेहरुकाे एउटा विशाल जङ्गल छ
जराहरुले आत्मालाई बाँधेका छन्
लहराहरुले प्रश्नलाई जन्मिनुअघि नै
निषेध गरेका छन्
र त मान्छे पनि कठपुतली नै हाे
फरक यति
उसलाई नचाउने औंलाहरु
अनुहार देखाउँदैनन्
मात्र धागाे गाँठाे पार्छन्
तान्छन्
फुकाल्छन्
फेरि गाँठाे पार्छन्
तर गाँठाे पारेका धागाेहरु देखिदैनन्

धागाेले तान्छ
हामी तानिन्छाैं
र त्यसलाई भाग्यकाे नाम दिन्छाैं
धागाेले झुकाउँछ
हामी झुक्छाैं
र संस्कारकाे नाम दिन्छाैं
धागाेले चुप लगाउँछ
हामी चुप लाग्छाैं
र शान्तिकाे नाम दिन्छाैं
धागाेले दाैडाउँछ
हामी दाैडिन्छाैं
र स्वतन्त्रताकाे नाम दिन्छाैं

हातहरूले
धागाेहरुलाई मात्र तान्दैनन्
हाम्राे नाम तान्छन्
हाम्रो सपना तान्छन्
हाम्रो प्रश्न तान्छन्
हाम्राे आवाज तान्छन्
हाम्राे आकाश तान्छन्
र अन्त्यमा हामीबाट म तान्छन्

मलाई थाहा छैन
कठपुतलीले
आफू किन नाचिरहेको थाहा पाउँछ कि पाउँदैन
तर मलाई थाहा छ
मान्छे रातकाे एकान्तमा
आफ्नो छायामा कठपुतलीलाई देख्छ
र साेच्छ
मान्छेको जन्म
धागाेमा झुन्डिनका लागि मात्रै हाे
या आफ्नो अर्थ खोज्न हो

युग फेरिन्छ
औंला फेरिन्छ
धागाे फेरिँदैन
धागाेहरु त पुराना नै हुन्छन्
एउटा भाेककाे
अर्काे नामकाे
अर्काे सत्ताकाे
अर्काे जातकाे
अर्को धर्मकाे
मान्छे बाेल्छ
आवाज उसकाे हुँदैन
मान्छे हिड्छ
दिशा उसकाे हुँदैन
मान्छे सुत्छ
सपना उसकाे हुँदैन
मान्छे साेच्छ
विचार उसकाे हुँदैन
मान्छे नाच्छ
स्वतन्त्रता उसकाे हुँदैन

मलाई थाहा छ
एकदिन कठपुतलीले
बन्धनकाे अन्तिम धागाे देख्छ
त्यसलाई छुन्छ
र खाेल्छ
जुन आफ्नै भयले बाँधेको थियाे
हाे, त्यही क्षण
नाङ्गिएका हातहरु
आफ्नो विक्षप्त अनुहार खाेज्दै
अन्धकारतिर भाग्नेछन्
म देखिरहेकाे छु
कठपुतली मरिरहेको हुने छैन
उसकाे काठकाे देह
रगत र मासुकाे देहमा परिवर्तन हुँँदै जानेछ
र एउटा मान्छे जन्मिरहेको हुनेछ
मञ्च उही हुनेछ
भीड उही हुनेछ
ताली उही हुनेछ
तर भ्रम चुँडिनेछ
र कठपुतलीले नाच्न अस्वीकार गर्नेछ
त्याे उसकाे विद्राेहकाे सुरुवात हुनेछ
मञ्चकाे पर्दा च्यातिनेछ
र उसले देख्नेछ
उसलाई बाँध्ने काेही थिएन
केवल ऊ थियाे
हाे, त्यही क्षण
रगतले भिजेको माैन मान्छे
आफ्नाे छायालाई त्यागेर
मञ्चबाट ओर्लिनेछ
र पहिलो पटक
पाइला क्षितिजतिर बढाउनेछ
र आफ्नो आकाश फिर्ता लिनेछ
त्याे नै उसकाे
स्वतन्त्रतातर्फकाे पहिलाे खुट्किलाे हुनेछ
अब तिमी देख्न सक्छाै
ऊ
आफ्नो आवाज सहितकाे
स्वतन्त्रता सहितकाे
एउटा पूर्ण मान्छे हुनेछ

अक्षर आकार
रविन घिमिरे
कविबारे
रविन घिमिरे

इटहरी, सुनसरी

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.