मौनताको दाग
आफ्नै मौनतामा उभिएको छु,
तर आफ्नै वरिपरि
धेरै आवाजहरू कराइरहेका छन्,
धेरै आवाजहरू हराइरहेका छन्,
र केही आवाजहरू
सधैँका लागि मौन बनाइएका छन्।
कसैले भन्छ “बोल्नुपर्छ।”
कोही विरोध मात्र गरेर बस्छ ।
मेरो मनले भन्छ ,निष्पक्ष बस,
समयले आफैँ फैसला गर्नेछ।
तर म सोचिरहेछु
समयले फैसला गर्दा
हामीमध्ये कसको अनुहार बाँकी रहला?
कसको चरित्रमा दाग लाग्ला,
नलाग्ने कसको होला ?
र कसको मौनता निर्दोष ठहरिएला?
बोल्नेहरूको ओठमा दाग छ,
नबोल्नेहरूको मौनतामा दाग छ,
विरोध गर्नेहरूको प्रश्नमा दाग छ।
अनि अचम्म
दाग लगाउने औँलाहरू पनि
हामीमध्ये नै छन्।
कसैको सत्य
कसैलाई अपराधजस्तो लाग्छ,
कसैको मौनता
कसैलाई सहमतिजस्तो लाग्छ,
कसैको विरोध
कसैलाई विद्रोहभन्दा ठूलो अपराध लाग्छ।
त्यसैले म चुप छु
डरले होइन,
शब्दहरू सकिएर होइन,
तर शब्द बोल्नुअघि
त्यसको भार महसुस गरेर।
किनकि मैले देखेको छु
एउटा शब्दले सम्बन्ध टुटेको,
एउटा आरोपले चरित्र जलेको,
एउटा दृश्यले मन चिरेको,
र एउटा मौनताले
कसैको जीवनभरको प्रश्न बनेको।
यो समय
सिर्फ इतिहासको एउटा पाना होइन,
यो हाम्रो चरित्रको ऐना हो।
आज हामी जे बोलिरहेका छौँ,
जे लुकाइरहेका छौँ,
जे देखेर पनि
नदेखेजस्तो गरिरहेका छौँ
भोलि त्यही कुराले
हाम्रो परिचय लेख्नेछ।
म चाहन्नँ
मेरो समर्थन को आवाज कसैको घाउ बनोस्,
मेरो मौनता
कसैको अन्यायको साथ बनोस्,
र मेरो विरोध
कसैको अस्तित्वमाथि प्रश्न बनोस्।
त्यसैले आफूलाई रोकिरहेछु
स्तब्ध हुन होइन,साक्षी बन्न।
बिर्सन होइन, सम्झन।
भीडमा हराउन होइन,
मान्छे भएर बाँकी रहन।
सायद मौन बस्नु पनि
एउटा कठिन निर्णय रहेछ,
सायद बोल्नु पनि
एउटा ठूलो जोखिम रहेछ,
र सुन्नु त झन , आफ्नै मनलाई
पटक–पटक चिर्नु रहेछ।
तर सबैभन्दा गाह्रो कुरा
न बोल्नु हो,
न मौन बस्नु हो
सबैभन्दा गाह्रो त
आफ्नो सत्यमा इमानदार रहनु हो।
किनकि समय बित्छ,
आवाजहरू थाक्छन्,
भीडहरू हराउँछन्,
घटनाहरू इतिहास बन्छन
तर चरित्रमा लागेको दाग
सधैँ ऐनामा देखिरहन्छ।
र कहिलेकाहीँ,
ऐनाबाट भाग्न खोज्दा पनि
आफ्नै आँखाले
आफैलाई सोधिरहन्छ …..
“त्यो बेला
तिमी कहाँ थियौ?”

