साहित्यशास्त्र

भाषा, कला, साहित्य, संस्कृति र विचारको लागि साहित्यशास्त्र डटकम

गृहपृष्ठ › कविता
कविता

रसुवा ! तिमीले हिम्मत हार्नुहुन्न

प्रिय रसुवा
मलाई थाह छ
अहिले तिमी दु:खमा छौ
निठुरी भेलले
दिन दहाडै
आखै अगाडि
तिम्रो कोमलतालाई
नोक्सान पारेछ
तिम्रो भावनालाई
तहसनहस पारेछ
स्याप्रुबेसीमा खेलिरहेका
कलिला मुनाहरु
राक्षसी छालसँग क्षिणभरमै कता हराए
न लाशको टुङ्गो छ
न शासको टुङ्गो छ
चिलिमेमा स्कुस टिप्न
बारीमा गएकी दिलकुमारी दिदी
स्कुस लिएर फर्केकी छैनन्
टिमुरे बजारमा चिया खाइरहेका
हाकुमान काका
क्षणभरमै कता हराए
बेत्रावती बजार
त्रिशूली बजार
हेर्दा हेर्दै
जलमग्न भए
न गुहार गुहारको आवाज सुनियो
न बचाउ बचाउ भनेको सुनियो
आँखा झिमिक बस्ती गायब
उफ् ! कति दुरुह छ जिन्दगी
कति क्रुर छ नियति

प्रिय रसुवा
तिमी वहाँ छौ म यहाँ छु
भुगोलले टाढा भएपनि
मनमा तिमी नै छौ
मस्तिष्कमा तिमी नै छौ
हिजो
कोशीलाई दुख्दा तिमी रोएको
मैले बिर्सेको छैन
हिजो गोरखालाई दुख्दा
तिमीले ऐया भनेको
मैले भुलेको छैन
आज तिमी रुँदा
म कसरी चैनमा रहन्छु र
आज तिमीलाई जुठो पर्दा
म कसरी खुसी हुन सकूलाँ र

प्रिय रसुवा
तिमी एक्लै छैनौ
तिमी हरेश नखाऊ
तिमी अब उठ्नुपर्छ ।
तिमी अब मुस्कुराउनु पर्छ
स्याऊ अनि नासपति
फेरि रोपौलाँ
स्कुस र फर्सिका लहराले
आकाश ताक्नेछन् ।
टुमुरे र बेत्रावतीमा
फेरि बजार बसाउँला
स्याप्रुबेसी र त्रिशूलीमा
फेरि विद्यालय बनाउँला ।
हाम्रो आशा छ
रसुवाका पहाड फेरि मुस्कुराऊन्
बगेका बस्ती फेरि उठून्
जीवन उठोस्
जीजीबिसा जागोस् ।
पीडितका आँखामा फेरि आशा पलाओस्,
मेरो देशले विपद् बाट सिकेर
अझ सुरक्षित भविष्य निर्माण गरोस्
नवनिर्णाणको यात्रामा
हामी सबै एक छौ
हामी सबै एक हौं ।

अक्षर आकार
श्याम न्यौपाने
कविबारे
श्याम न्यौपाने

गौरादह-८, झापा

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.