साहित्यशास्त्र

भाषा, कला, साहित्य, संस्कृति र विचारको लागि साहित्यशास्त्र डटकम

रामप्रसाद दाहालको ‘अडान’ : एक समीक्षात्मक दृष्टि

​१. विषयप्रवेश र स्रष्टा परिचय

​नेपाली साहित्यका विविध विधामा निरन्तर कलम चलाउँदै आएका असमका प्रतिष्ठित स्रष्टा रामप्रसाद दाहाल (जन्म : २९/११/१९८० ई.) समकालीन भारतीय नेपाली गजल क्षेत्रका एक निष्ठावान्, इमानदार र समर्पित साधक हुन्। कविता तथा उपन्यासजस्ता विधाबाट आफ्नो साहित्यिक पहिचान निर्माण गर्दै आएका दाहालले एकाएक गजल विधातर्फ मोडिएपछि पछिल्लो समय अन्य विधालाई केही थाती राखेर गजलको श्रीवृद्धिमा आफूलाई पूर्णतः समर्पित गरिरहेका छन्।

​सङ्ग्रहको लेखकीय ‘मेरा दुई कुरा’ मा गजलकार दाहाल स्वयम् लेख्छन्— “गजललाई म भगवान् मान्छु, म गजलको भक्त हुँ, म गजलको पूजा गर्दछु, गजल मेरो निमित्त सबैथोक हो। मैले जहिलेदेखि गजल लेख्न सुरु गरेँ त्यहाँदेखि पछि फर्केर हेरेको छैन… गजलको सागरमा म चुलुम्मै डुबेको छु।” उनको यो स्वोक्तिले गजल विधाप्रतिको अगाध निष्ठा, अनन्य भक्ति र आत्मीय समर्पणलाई छर्लङ्ग पार्छ।

​चौथो कृति अथवा दोस्रो गजलसङ्ग्रह ‘राँको’ (२०१८) प्रकाशित भएको छ वर्षपछि स्रष्टाको पाँचौं कृतिका रूपमा ‘अडान’ गजलसङ्ग्रह पाठकमाझ आएको छ। असम नेपाली साहित्य सभा, विश्वनाथ जिल्ला समितिद्वारा प्रकाशित यस सङ्ग्रहमा जम्मा ८९ वटा गजल समेटिएका छन्। सङ्ख्यात्मक उपस्थिति मात्र होइन, विषयगत विविधता, सामाजिक सरोकार र गजलकारको वैचारिक अडानका दृष्टिले पनि ‘अडान’ उल्लेखनीय कृति बनेको छ।

​२. भाव एवं वैचारिक पक्ष

​‘अडान’ ले समकालीन समाज, राजनीति, मानवीय संवेदना तथा उत्तरपूर्वी भारतीय गोर्खा जनजीवनका विविध आयामलाई सूक्ष्म ढङ्गले उघार्ने प्रयत्न गरेको छ। दाहालका गजलहरू पढ्दै जाँदा अनुभव र शिल्पदक्षताको क्रमिक परिपक्वता अनुभूत हुन्छ। त्यसैले उनका गजलहरू श्रुतिमधुर मात्र छैनन्, खिरिला, कसिला र चोटिला पनि छन्।

​परम्परागत रूपमा गजलले वहन गर्दै आएको प्रेम–प्रणय वा शृङ्गारिक भावभूमिभन्दा केही पृथक् बाटो रोज्दै दाहालले आफूले देखे–भोगेका सामाजिक, राजनीतिक तथा आर्थिक विसङ्गति र विभेदलाई आफ्ना गजलको मूल विषय बनाएका छन्। सामाजिक विकृति र विसङ्गतिप्रति तीक्ष्ण व्यङ्ग्य–प्रहार गर्नु उनको गजलकारिताको एउटा प्रमुख स्वर बनेको छ। आफ्ना अनुभव र निरन्तरको साधनालाई संयोजन गर्दै उनले प्रभावकारी र वजनदार शेरहरूको निर्माण गरेका छन्, जहाँ जीवनदर्शनका अनेक झिल्का भेटिन्छन्।

​उनका यस्तै भाव तथा वैचारिक विविधताले भरिएका गजलबाट केही प्रतिनिधि शेरलाई यहाँ प्रतीकात्मक रूपमा हेर्न सकिन्छ।

​सामाजिक स्खलन र विसङ्गतिको उद्घाटन:

​अहिलेका मान्छेको चाला, बुझ्नुहुन्न तपाई
गाईचोरहरू बन्छन् गोठाला, बुझ्नुहुन्न तपाई ।

​त्यस्तै, राज्यव्यवस्थाभित्रै अपराधको संरक्षण हुने विडम्बनालाई अर्को शेरमा यसरी व्यङ्ग्य गरिएको छ—

​सरकारलाई अपराधको शिकायत गरेर के गर्नु ?
अपराधी पर्छन् उसैकै साला, बुझ्नुहुन्न तपाईं।

— गजल नं. १४

​सङ्ग्रहभरि राजनीतिक बेथिति, कुर्सीमोह र भ्रष्ट शासनप्रतिको असन्तोष पनि निकै तीव्र रूपमा अभिव्यक्त भएको छ-

​हिजो देशमा शान्ति ल्याउँछु भन्थ्यो सरकार।
आज हर सहरमा बम अनि गोली उस्तै भयो ।
— गजल नं. ६१

​त्यस्तै, सत्ता र जनजीवनबीचको विषम दूरीलाई व्यङ्ग्यात्मक ढङ्गले यसरी प्रस्तुत गरिएको छ-

​जनता कङ्गाल नेता मालामाल, बुझ्न सकिएन
सरकार तेरो गणितको चक्रचाल, बुझ्न सकिएन ।

-मतला, गजल नं. ६२

​आर्थिक असमानता, श्रमजीवी वर्गको पीडा र अभावको भयावह चित्रण गजल नं. ८८ को यस शेरमा सघन रूपमा आएको छ-

​खाँदाखाँदै धेर खाएर मर्ने छन् यो संसारमा,
अभावले खानै नपाएर मर्ने छन् यो संसारमा ।

‌​यसरी नै कर्मसंस्कृतिको उपेक्षा र बेरोजगारीको विडम्बनालाई एउटा सशक्त शेरमा यसरी अनावृत गरिएको छ-

​पढेको मान्छेलाई काम गर्न लाज हुन्छ अरे
भिखारीसँग पो पेट भर्ने चारा माग्यो कसैले ।

-गजल नं. ८४ ​यी शेरहरूमा समाजका विसङ्गतिप्रति गजलकारको दृष्टि मात्र छैन, त्यसलाई प्रश्न गर्ने चेतना पनि उत्तिकै सशक्त छ।

​मानवीय मूल्यको क्षयीकरण र आत्मीयताको खोजी:

आधुनिक समाजमा क्षीण हुँदै गएको नैतिक मूल्य, स्वार्थी प्रवृत्ति र मानिसको दोहोरो चरित्रप्रति गजलकार चिन्तित देखिन्छन्। गजल नं. ७५ मा उनी लेख्छन्-
​आफू निर्दोष अनि आफू निष्पाप बन्न,
अरूलाई दोषी बनाउनेको भीड देखियो ।
​यसरी मानिसभित्रको कपटी प्रवृत्तिमाथि प्रहार गरिएको छ यहाँ।

​त्यस्तै, कर्मलाई धर्म मानेर जीवनको यात्रामा अघि बढ्नुपर्छ भन्ने भाव राख्ने उनको गजल नं. ७७ को एउटा मार्मिक शेर हेरौँ—
​”मनको आघात पग्लिएपछि आँसु बनिएर झर्छ बाबु
आमाले यस्ता कुरा विधवाको आँखामा भेट्न
भयो।”-
​यस शेरमा करुणा, मातृत्व र जीवनको पीडालाई अत्यन्त संवेदनशील ढङ्गले समेटिएको छ।

​धर्मान्धताको विरोध र यथार्थवादी दृष्टिकोण:

‘अडान’ का गजलहरू पढ्दा गजलकार दाहालको सचेत, प्रश्नाकुल र यथार्थवादी व्यक्तित्वको आभास हुन्छ। धर्मान्धता, अन्धविश्वास र कुसंस्कारप्रति उनले खुलेर असहमति जनाएका छन्—

​धामीलाई बोक्सी र बोक्सीलाई धामी मन पर्दैन
मेरी आमालाई धामी लगाउने विरामी मन पर्दैन ।
-गजल नं. ६४

​तथाकथित धार्मिक आडम्बर र मानिसभित्रकै भयमाथि प्रश्न उठाउँदै उनी लेख्छन्—

​मन्दिरमा ईश्वर कराउँदा म हेरेको हेर्यै हुन्छु
आफ्नै मूर्तिदेखि डराउँदा म हेरेको हेर्यै हुन्छु ।

-गजल नं. ३६

​त्यस्तै, धर्मका नाममा सिर्जित विभेद र हिंसाविरुद्ध उनको मानवीय चेतना अर्को शेरमा यसरी मुखर भएको छ-

​उसको अल्ला र मेरो भगवान् एकै हुनुपर्छ
पक्कै पनि हिन्दु यस मुसलमान एकै हुनुपर्छ ।

– गजल नं. ५०

​‘जोही अल्ला सोही राम’ भन्ने राष्ट्रपिता महात्मा गान्धीको समन्वयवादी भावसँग पनि यस शेरको अन्तर्ध्वनि मिल्दोजुल्दो देखिन्छ। मानिसभित्रको आत्मज्ञानको अभावले धर्मका नाममा विभेद र पारस्परिक हिंसा जन्माइरहेको यथार्थलाई यसले औंल्याएको छ। धर्मभन्दा माथि मानवता र आस्थाभन्दा गहिरो आत्मबोधको आवश्यकता रहेको सङ्केत पनि यसमा भेटिन्छ।

​‘अडान’ मा यस्ता अर्थपूर्ण र चोटिला शेरहरू प्रशस्त छन्। गजलकारका धेरैजसो शेरहरू जति प्रभावकारी छन्, उति नै सुसम्प्रेष्य पनि। त्यसैले प्रत्येक शेरको पृथक् व्याख्या गर्नु आवश्यक ठानिनँ। केही निर्वाचित शेरको सोझो उद्धरणबाटै कृतिको भावभूमिको परिचय दिने प्रयास गरेको छु। बाँकी शेरहरू पाठकको आफ्नै रसास्वादनका लागि छाडिदिँदा त्यसबाट प्राप्त हुने आनन्द कुनै पनि व्याख्याले दिन सक्दैन।

​३. भारतीय नेपाली गजलको इतिहास, शिल्प र ‘अडान’ को स्थान

​भारतीय नेपाली गजलको इतिहास नियाल्दा माध्यमिक कालका युगप्रवर्तक मोतिराम भट्टले भारतभूमिबाटै नेपाली गजल लेखनको प्रारम्भ गरेका थिए। तर मोतिरामको नेपाल प्रत्यागमनपछि भारतमा नेपाली गजलको विकास लामो समयसम्म अपेक्षित गतिमा अघि बढ्न सकेन। सन् २००० पछिको समयलाई भने भारतमा नेपाली गजलको पुनःसशक्त उत्थानको चरणका रूपमा हेर्न सकिन्छ। यस उत्थानको प्रारम्भिक चरण मूलतः गजलको जग वा बुनियाद निर्माण गर्ने चरण थियो।

​संरचना र शिल्पका दृष्टिले हेर्दा गजल साधनाका पारखी दाहालको प्राविधिक सचेतना यस सङ्ग्रहमा स्पष्ट देखिन्छ। ‘अडान’ मा सङ्कलित सबै गजलहरूमा काफिया र रदीफको अत्यन्त सन्तुलित र अनुशासित उपयोग गरिएको छ। फलस्वरूप, सङ्ग्रहका सम्पूर्ण गजलहरू ‘मुर्द्दफ गजल’ का रूपमा देखा पर्छन् र गैर-मुर्द्दफ (रदीफविहीन) गजलहरू यसमा भेटिँदैनन्। यसले गजलकारको संरचनात्मक अनुशासन र शास्त्रीय तत्त्वप्रतिको सजगतालाई पुष्टि गर्छ।

​शास्त्रारूढ शास्त्रीय बहर अर्थात् अरूजको दृष्टिले हेर्दा भने ‘अडान’ का गजलहरू उर्दू–फारसी परम्पराका पारम्परिक बहरमा आबद्ध नभई गजलकारको स्वनिर्मित आन्तरिक लयमा आधारित छन्। तर यसलाई रामप्रसाद दाहालको मात्र सीमा मान्नु उचित हुँदैन। यो समग्र भारतीय नेपाली गजल क्षेत्रको वर्तमान ऐतिहासिक अवस्थासँग पनि सम्बन्धित विषय हो। अहिले पनि भारतका धेरैजसो नेपाली गजलकारहरू स्वनिर्मित लयमै अभ्यासरत छन्। गजलको विकासक्रमको यस प्रारम्भिक चरणमा यसलाई एउटा स्वाभाविक प्रक्रिया र केही हदसम्म व्यावहारिक विवशता दुवैका रूपमा लिन सकिन्छ।

​यस्तो पृष्ठभूमिमा दाहालको योगदानलाई हेर्दा उनले आफ्नै लयपरम्पराभित्र रहेर पनि गजलको साङ्गीतिकता, काफिया–रदीफको संरचना र भावसम्प्रेषणीयतालाई पर्याप्त उचाइ दिएका छन्। सङ्ग्रहका कतिपय गजलमा स्थानीय परिवेशका शब्द र जनबोलीको प्रयोग भएकाले केही पदविन्यास अलि खुकुला देखिए पनि त्यसले गजलमा स्थानीयताको आत्मीय सुवास र जनजीवनको वास्तविक मिठास थपेको छ।

​४. भावी अपेक्षा

​भारतीय नेपाली गजलले अब आफ्नो प्रारम्भिक जगलाई बलियो बनाउँदै परिपक्वताको दिशातर्फ उन्मुख भएको आभास दिन थालेको छ। अबको यात्रा केवल जग निर्माणको नभई त्यसै जगमाथि उचाइ निर्माण गर्ने यात्रा हो। यस सन्दर्भमा असम तथा समग्र भारतीय नेपाली गजल संसारले रामप्रसाद दाहालजस्ता समर्पित साधकबाट अपेक्षा राख्नु स्वाभाविक हुन्छ।
‌‌​
शास्त्र र बहरको प्रयोग: भारतीय नेपाली गजलमा अब बहर र छन्दको प्रयोगतर्फ क्रमशः चासो बढ्दै गएको देखिन्छ। दार्जिलिङ, सिक्किम तथा असमका केही प्रवीण र नवीन गजलगोहरूले नेपाली लोकलय, अरबी–फारसी बहर तथा संस्कृत छन्दको प्रयोगतर्फ पाइला चाल्न थालेका छन्। यो भारतीय नेपाली गजलका निम्ति उत्साहजनक पक्ष हो। ​गजल मूलतः गेय र ललित विधा भएकाले यसको लयात्मक संरचना र छन्दपरम्पराको महत्त्वलाई पूर्णतः उपेक्षा गर्न मिल्दैन। यस अर्थमा अनुभवी गजलगो दाहालले पनि आगामी सिर्जनामा शास्त्रीय बहर, नेपाली लोकलय वा संस्कृत छन्दमध्ये उपयुक्त संरचनाको प्रयोगतर्फ आफ्नो साधनालाई विस्तार गर्न सक्ने प्रशस्त सम्भावना देखिन्छ। साथै, भारतीय नेपाली गजलमा बहर विधानको अध्ययन, प्रयोग र विस्तारका लागि समेत उनले जागरणकारी भूमिका निर्वाह गर्न सक्ने अपेक्षा गर्न सकिन्छ।

​विषयगत बहुआयामिकता: ‘अडान’ मा सामाजिक–राजनीतिक विषयको प्रभावशाली उपस्थिति छ। आगामी सिर्जनामा प्रकृति, दर्शन, शृङ्गार, अध्यात्म तथा सूक्ष्म मनोवैज्ञानिक अनुभूतिका आयामलाई अझ व्यापक बनाउने अवकाश पनि दाहालको गजलकारितामा प्रस्ट देखिन्छ। विषयको यस्तो विस्तारले उनको गजलयात्रालाई अझ फराकिलो भावभूमि प्रदान गर्न सक्छ।

​५. निष्कर्ष

​रामप्रसाद दाहालको ‘अडान’ असमभूमिबाट प्रकाशित एउटा गजलसङ्ग्रह मात्र होइन; भारतीय नेपाली गजलको पुनरुत्थान यात्रामा गाडिएको एउटा सशक्त साहित्यिक स्तम्भ पनि हो। गजल विधाप्रतिको उनको निष्ठा, त्याग, निरन्तर साधना र समर्पण अनुकरणीय छ। सङ्ग्रहको नामझैं उनका गजलहरूले सत्य, न्याय, निष्ठा, मानवता र सामाजिक रूपान्तरणका पक्षमा एउटा दरिलो ‘अडान’ प्रस्तुत गरेका छन्।

​सामाजिक विसङ्गतिप्रतिको व्यङ्ग्य, राजनीतिक बेथितिप्रतिको असन्तोष, आर्थिक असमानताप्रतिको चिन्ता, मानवीय मूल्यप्रतिको आग्रह तथा धर्मान्धता र कुसंस्कारविरुद्धको चेतना यस सङ्ग्रहका प्रमुख शक्ति हुन्। यस अर्थमा ‘अडान’ ले केवल गजलकार दाहालको व्यक्तिगत सिर्जनात्मक यात्रा मात्र अभिव्यक्त गर्दैन, समकालीन भारतीय नेपाली समाजको एउटा सचेत अनुहारलाई समेत शब्दायित गरेको छ।

​असमेली तथा समग्र भारतीय नेपाली गजलको यात्रालाई सही दिशा, उचाइ र व्यापकतातर्फ अघि बढाउन दाहालजस्ता निष्ठावान् साधकहरूको सिर्जनात्मक जिम्मेवारी पनि उत्तिकै बढेको छ। लेखकीयमा व्यक्त उनकै भावनाझैं ‘अडान’ ले भगवान्‌सरह पाठकीय मन जित्न सकोस् र आगामी दिनमा शिल्पगत अनुशासन, बहर–साधना र विषयगत बहुआयामिकतासँगै उहाँको सिर्जनात्मक यात्रा अझ समृद्ध बन्दै जाओस् भन्ने शुभकामना।

​अन्ततः, ‘अडान’ रामप्रसाद दाहालको गजल-साधनाको एउटा महत्त्वपूर्ण दस्तावेज मात्र नभई समकालीन भारतीय नेपाली गजलको विकासक्रममा स्मरणीय उपस्थिति जनाउने कृति हो। यसले आजको समाजलाई प्रश्न गर्ने, विसङ्गतिविरुद्ध आवाज उठाउने र मानवीय मूल्यप्रति विश्वास जगाउने आफ्नो प्रयत्नका कारण पाठकको मनमा दीर्घकालीन छाप छोड्ने सामर्थ्य राख्दछ। यही अर्थमा ‘अडान’ समकालीन नेपाली गजल साहित्यमा सङ्ग्रहणीय ग्रन्थका रूपमा आफ्नो स्थान सुरक्षित गर्न सक्ने सम्भावना बोकेको कृति हो।

गोविन्द शाण्डिल्य
लेखकबारे
गोविन्द शाण्डिल्य

आमटेका, असम, भारत

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.