साहित्यशास्त्र

भाषा, कला, साहित्य, संस्कृति र विचारको लागि साहित्यशास्त्र डटकम

स्रष्टा हिमांशुका तीन कृतिभित्र

दार्जिलिङ जिल्लाको डाउहिल, महकुमा खरसाङ निवासी माता कृष्णमाया र पिता बुद्घिमान प्रधानको पुत्ररत्नका रूपमा राजु प्रधानको जन्म ११ नोभेम्बर १९६० मा भएको थियो । १९७८ मा उपन्यास लेखेर साहित्यमा प्रवेश गरेका स्रष्टा राजु प्रधान ‘हिमांशु’ का यो निगूढ कुरा होइन (कवितासङ्ग्रह, १९९६), अभ्यन्तर (काव्य, १९९९), अन्वेषण (एकाङ्कीसङ्ग्रह, २००२), मुखुन्डो लगाएको मन (नाटकसङ्ग्रह, २००३), ओम शान्ति ! (नाटकसङ्ग्रह, २००४), निफन नाफन (समीक्षासङ्ग्रह, २००८), काल निर्णय (कवितासङ्ग्रह, २००९), निःशब्द शब्द शिखा (कविता र गीतसङ्ग्रह, २०१०), प्रक्षण सर्वेक्षण (लेख र समीक्षासङ्ग्रह, २०११), चिन्तन विचिन्तन (निबन्धसङ्ग्रह, २०१३), अवसान (नाटकसङ्ग्रह, २०१४), शान्ति दर्शन (रेडियो नाटकसङ्ग्रह, २०१५), कालान्तर कालान्तर (कविता र गीतसङ्ग्रह, २०१७), विचारको आयतन (कथासङ्ग्रह, २०१८), रङ्गहरूको खेल (नाटकसङ्ग्रह, २०१८), एउटा महायज्ञपछि (कविताङ्ग्रह, २०१९), मृत्युचिन्ता (कथासङ्ग्रह, २०२०), तिरस्कृतहरू/बहिष्कृतहरू (कवितासङ्ग्रह, २०२१), विलोकन (लेख र समीक्षासङ्ग्रह, २०२१), लक्ष्मण श्रीमल (मनोग्राफ, २०२२), मायाको रङ्ग (गीतसङ्ग्रह, २०२३), कविताको आँसु (कवितासङ्ग्रह, २०२४), त्यो घाउको कथा (गजलसङ्ग्रह, २०२४), ओम्…..स्वाहा ! (पूर्णाङ्की नाटक, २०२४) लगायत अनुवाद र सम्पादनका कृतिसमेत प्रकाशित छन् ।

कविताको आँसु
कवि राजु प्रधान ‘हिमांशु’ को कवितासङ्ग्रह हो ‘कविताको आँसु’ । यससङ्ग्रहमा निथ्रुक्क भिजाउने बादलहरू, पोखरीको कथा, र बिपना बेस्सरी रुन्छ मेरो सपनामा, आफैँसितको युद्घ हो यो, रिस त सुस्त विष नै हो, दन्तेकथाजस्तो लाग्छ मेरो नातिलाई, स्थान, ..शहरमा, ईख, खै, अब अरू के भन्नु र !, खोला, जिन्दगी मलाईजस्तै तँलाई पनि दुख्ने भए !, बिसञ्चो पार्ने सोचहरूको टुङ्ग्याउनी उम्रियोस्, हिउँको सिरक ओढेर निदाएका श्यामबहादुरहरू !, आजभोलि, अथाह गहिरो भित्री चुपचापभित्र, एक दिन मसितै, क्रुर कालको कालो कारागारभित्र, सोचेको थिएँ म त निकै माथि छु, अजङ अजिङ्गरले, तिम्रो सोचाइको सुनामीको कुनै उँचाइ हुँदैन, मित्रता र शत्रुता, ए ! कता ?, अपठनको जङ्गल, बेवास्ता, हिमांशुभित्र कविता कविताभित्र हिमांशु, भ्रम नपाल्नू, बाउ मलाई सपना देख्न देऊ, मनको खेतबारी, हुरुरुरु चिन्ताग्निमा, वितृष्णाको त्यो कालो मरुभूमितिर, दुुइटा मिथक एउटा प्रतिध्वनि, सिङ न पुच्छर, मेरी आमाको वक्षस्थल, मेरो मनको कोरिडोरमा, कागजको त्यो बाघ गरी ३६ वटा कविताहरू र केही हाइकुहरू रहेका छन् ।

मानिसहरूको क्रियाकलापबाट विकृत बन्दै गएकोप्रति व्यङ्ग्य गर्दै कविले पर्या कविता ‘खोला’ मा लेखेका छन्ः

अचेल
खोलाले तिर्खाएर पानी खोज्छ
पानी भने पोलिथिन पाइपभित्र
खोलैखोला भएर बग्दै छ ।

खोला
कति रुँदो हो
आँसुहीन रुवाइ !
कति दुख्दो हो
पानीहीन दुखाइ !

(खोला, पृ. ३४)
कवि राजनीतिक क्षेत्रका विसङ्गतिहरूप्रति व्यङ्ग्य गर्दै नेताहरूको प्रवृत्तिलाई यसरी व्यक्त गर्छन्ः
एकातिर
राजनीतिक छेकथुनको आवाजले दङ्गा पाकिसक्यो ।
अर्कोतिर
आफन्तहीन लासहरूको बगाइले गङ्गा थाकिसक्या ।
एकातिर
बगिरहे मुर्दा शरीर भएर
रोगहरू भक्कु पालेका निर्धाहरू ।

(क्रुर कालको कालो कारागारभित्र, पृ. ५२)
कवि राजु प्रधान ‘हिमांशु’ को यससङ्ग्रहका कवितामा भने प्रयोगवादी लेखनशैली लिएर आएका छन् । आफूभित्रको अमूर्त चिन्तन वा चेतनप्रवाहलाई कवितामा प्रयोग गर्दै विसङ्गतिवादी र अस्तित्ववादी दृष्टिकोणको अभिव्यक्ति दिने यिनका कविता केही बोधगम्य भए पनि कतिपय प्रयोगवादी शैलीका कारण समग्रमा अथ्र्याउनु पर्ने अवस्थाका छन् । प्रयोगवादी शैली ग्रहण गरी अमूर्त चिन्तनलाई चेतनप्रवाह शैलीमा प्रस्तुत गर्दै जाँदा केही कवितामा भावयोजना विशृङ्खलित बन्न पुगेकाले समष्टिमा अथ्र्याउनु पर्ने छन् । केही कविता सरल, सुबोध र सम्पे्रष्य भाषामा पनि रचिएका छन् ।

त्यो घाउको कथा
गजलकार राजु प्रधान ‘हिमांशु’ को ‘त्यो घाउको कथा’ गजलसङ्ग्रह हो । गजल अरबी भूमिबाट पर्सिया, हिन्दी, उर्दु हुँदै नेपाली भाषासहित्यमा प्रवेश गरेको कविताको एउटा उपविधा हो । यसको शाब्दिक अर्थ प्रेमी– प्रेमिकाको प्रीतियुक्त कुराकानी, रतिरागात्मकता भन्ने हुन्छ । यसो भए तापनि गजलले देशभक्ति, ईश्वरभक्ति, सामाजिक–राजनैतिक सन्दर्भ, वैयक्तिक आर्तअनुभूतिलाई समेत समेटेको पाइन्छ । यसरी यसको उठान शृङ्गारिकताबाट भएको देखिन्छ । तर यसले शृङ्गारमा मात्रै आफूलाई सीमित राखेको छैन । जीवन र जगत्का शाश्वत सत्यलाई उजागर गरेको छ । विकृति र विसङ्गतिलाई उदाङ्गो पारेको छ । सत्य, न्याय अहिंसा, भाइचारा र विश्वबन्धुत्वको भावनालाई झङ्कृत गरेको छ । मानवतावादको पक्षमा वकालत गरेको छ । अन्तरमनका आवाजलाई मुखरित गरेको छ ।

गजलकार राजु प्रधान ‘हिमांशु’ को ‘त्यो घाउको कथा’ गजलसङ्ग्रह भाव विधानका दृष्टिले सशक्त र अब्बल छ । यसमा प्रयुक्त भाषाशैली सहज र सरल छ । ८५ सङ्ख्याका गजलहरूको सुन्दर संयोजन भएको यस सङ्ग्रहमा सामाजिक जनजीवन, धर्म–संस्कृति, राष्ट्र र राष्ट्रियतालाई अवलम्बन गर्दै युगीन जीवन र जगत्का वास्तविकताहरू प्रस्तुत गरिएका छन् ।

मतभेदको खेतबारीमा तनाउ लहलह भइरहेछ
घर नै अधिनायकवादी सोचले भयावह भइरहेछ (पृ. ३९)
मेरा सारा रातहरू आँसुले भिजाउन नआऊ
माया बनी शङ्काको छुरा चलाउन नआऊ (पृ. ४५)

गजलकार राजु प्रधान ‘हिमांशु’ को यससङ्ग्रहभित्र प्रेमिल गजलहरू पनि रहेका छन् ः
पिरतीको मीठो धुन सुनेर साथ फेरि दुख्यो
अँगालोको न्यानो सम्झेर याद फेरि दुख्यो (पृ. २२)

भुल्न नै कहाँ सक्छु पहिलो भेटको मुहार त्यो
लडेर पीरको भीरबाट उठाएको तिम्रो गुहार त्यो (पृ. ४४)

गजलकार राजु प्रधान ‘हिमांशु’ ले पूर्ण काफिया र रदीफयुक्त मिसराहरू भएका शेरहरूलाई प्राथमिकतामा राखेर गजल लेखेका छन् । रदीफ र काफिया दुवै प्रयुक्त भएका र काफियामात्र प्रयोग भएका दुवै प्रकारका गजलहरू गजलकार राजुको यससङ्ग्रहमा रहेका छन् ।
उर्दू गजलमा शीर्षक हुँदैन । त्यसरी गजलको शीर्षक नहुनुमा गजलको प्रत्येक शेरको कथ्य भिन्न हुन्छ र एउटा विशेष शीर्षकले विविध कथ्यपूर्ण शेरहरूलाई प्रतिनिधित्व गर्न सक्दैन भन्ने तर्कबाट सायद गजलकार प्रभावित भएर यससङ्ग्रहका गजलहरूमा शीर्षक राखेका छैनन् ।
‘त्यो घाउको कथा’ भित्रका गजलहरू एकै विषयमा केन्द्रित छैनन् । यसभित्र यथार्थवादी भाव, शृङ्गारिक भावचिन्तन, व्यङ्ग्यवादी चेतना, नारीवादी चेतना, राष्ट्रवादी चिन्तन, प्रकृतिप्रतिको अनुराग, स्वच्छन्दतावादी प्रभाव आदि मुख्य भावहरूका गजलमा समेटेका छन् ।

ओम्…..स्वाहा !
नाटककार राजु प्रधान ‘हिमांशु’ द्वारा लिखित ओम्…..स्वाहा ! पूर्णङ्की नाटक हो । यसमा पृथ्वीलोकको दूषित पर्यावरणले देवलोक र यमलोकलाई समेत प्रदूषित बनाएकोले नारदझैँ मुनिवर मेनका र उर्वशीजस्ती देवनर्तकीहरू पनि पृथ्वीलोकका अत्याधुनिक मनोरञ्जन र आमोदप्रमोदका साधनहरूबाट प्रभावित भई देवराज इन्द्रका आज्ञाका विरुद्घ काम गर्न थाल्छन् । यतिसम्म कि अप्सराहरूले त विद्रोह नै गर्छन् । त्यसै गरी यमलोकमा पनि पृथ्वीलोकबाट भ्रष्ट र पापीष्टहरूमात्र पुुगेर यमराजलाई दिक्क पार्न थाल्छन् । यतिसम्म कि पृथ्वीलोक गुण्डाहरू लगाएर व्यापारी लालाचन्दले यमराजलाई नै घाइते बनाउँछन् । देवलोक र यमलोकको शासन व्यवस्थामा समस्या बढेपछि यमराज एक दिन देवराजसँग गएर राज्यको शासन व्यवस्थालाई शान्तिपूर्ण बचाउने विषयमा सल्लाह गर्छन् ।

देवराज इन्द्रले महात्माहरूलाई बिन्ती गर्छन् । महात्माहरूले उनीहरूकै वचन र कर्मलाई पृथ्वीलोककै कुनै नाटककारबाट नाटकमा चरित्र निर्माण गरी प्रदर्शन गर्न सल्लाह दिन्छन् । देवराज र यमराज महात्माहरूको सल्लाहअनुसार नाटककार खोज्न पृथ्वीलोक ओर्लन्छन् । नाटककारसँग देवराज र यमराजको भेट हुन्छ । नाटक तयारीका क्रममा बुद्घ, यीशु, महम्मद, नानक, चैतन्य र गान्धीलाई नाटककारले चरित्रका लागि अह्वान गर्छन् । नाटक प्रर्दशनका क्रममा मुर्ख दर्शकले नाटककारलाई नै गोली हानेर हत्या गर्छन् ।
ओम्…..स्वाहा ! को परिवेश मत्र्यलोक, देवलोक, यमलोक र अन्तरलोकसम्मको रहेको छ । नाटकमा स्वैर कल्पना, विपर्यास, मानवीकरण र प्रतीक आदिको प्रयोग गरिएको छ । यस नाटकमा दार्जिलिङमा घटिन चतुर्दिक यथार्थलाई नाटकको केन्द्रीय विषयवस्तु बनाएर राष्ट्रिय घटनावलीलाई समेत समेट्ने प्रयास गरेका छन् । नाटककार राजु प्रधान ‘हिमांशु’ द्वारा लेखन एवम् निर्देशन गरिएको यो बहु अङ्क र दृश्य भएको यो नाटकमा अति व्यङ्ग्य दोष रहेको पाइन्छ ।
ओम्…..स्वाहा ! नाटक नटराज नाट्य निकेतनद्वारा ९ देखि १५ सेप्टेम्बर १९९५ मा गोर्खा दुःख निवारक सम्मेलन हल, खरसाङमा मञ्चित भएको थियो । यसमा प्रेम लामा, ब्रिगेन गुरुङ, पूरण देवान, शबनम प्रधान, सरोज थिङ, प्रदीप घिसिङ, रमेश कार्कीढोली, रमेश दर्नाल, रोदन राई, मनोज छेत्री, रमेश प्रसाद, ध्रुव मोक्तान, विकास सेवा, विकास शर्मा, मुकुन्दमणि थापा, ग्याल्पो लामा, शकिल अहमद, प्रताप थापा, दरवेश्वर प्रसाद, पूर्णिमा प्रधान, सुमन तोलाङ्गी, कविता छेत्री, प्रज्ञा तामाङ, रानू देवानलगायत नाटककार राजु प्रधान ‘हिमांशु’ समेतले अभिनय गरेका थिए ।

दीपक सुवेदी
लेखकबारे
दीपक सुवेदी

यस हप्ताको चयनित स्रष्टा।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.