
दमकमा भोलिदेखि तीनदिने भाषा, साहित्य, कला र संगीतको उत्सव हुदै
दमक – भाषा, साहित्य, कला, संस्कृति र संगीतका माध्यमबाट मानवता र मानवीय सम्बन्ध जोड्ने उद्देश्यसहित झापाको दमकमा बिहीबारदेखि तीनदिने बृहत् उत्सव आयोजना हुने भएको छ।
नाता फाउन्डेसनको आयोजनामा कात्तिक १३ देखि १५ गतेसम्म दमकस्थित मातृभूमि पार्टी प्यालेसमा उत्सव सञ्चालन हुने अध्यक्ष जितेन साम्पाङले जानकारी दिए।
उत्सवमा कला प्रदर्शनी, दमक साहित्य महोत्सव, कला कार्यशाला तथा संगीत महोत्सव आयोजना गरिनेछ। साथै, विभिन्न जातजातिका मौलिक भेषभूषा र सांस्कृतिक नृत्यसमेत प्रस्तुत गरिने आयोजकले जनाएको छ।
स्थानीय प्रतिभा, सर्जक तथा सिर्जनात्मक उद्यमलाई प्रोत्साहन गर्नुका साथै भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले उत्सव आयोजना गर्न लागिएको हो।


