साहित्यशास्त्र

भाषा, कला, साहित्य, संस्कृति र विचारको लागि साहित्यशास्त्र डटकम

गृहपृष्ठ › कविता
कविता

बालापन र प्रेम

ती प्राइमरी स्कुलका दिनहरू,
जहाँ नजरले सबै कुरा बताउँथे।
कक्षामा अगाडी तिमी, पछाडी म
तर आँखाहरू बीचैमा भेटिन्थे,
लाजले गाला रातो हुन्थ्ये,
एकोहोरो किताब हेरेको नाटक गर्थ्यें।

माध्यमिक विद्यालयमा
जाँदा थपिएका थिए अक्षरहरू,
गणितका सूत्रहरू,
तर त्यो मुस्कान रु
उही थियो — मन्द-मन्द,
थोरै लजाएको !
तिमी हाँस्दा म हाँस्थ्येँ
बिना आवाज, बिना कारण।
सरले पढाउँदा किताबको पाना पछाडि लुकेर
तिमीलाई हेर्ने खेल चलेको हुन्थ्यो‘
न त त्यो व्यक्त प्रेम थियो,
न त प्रकट अभिव्यक्ति।
तर त्यो ‘केही’ शुद्ध थियो,
अबोध र निर्दोष।
ती दिनहरू,
जहाँ ‘माया’ भन्ने शब्द थाहा थिएन,
तर माया चाहिँ
अनुभूति भइसकेको थियो।
कसैको हात समाउन मन लाग्थ्यो,
तर किन समाउने भन्ने थाहा थिएन।

हाम्रो प्रेम बोल्दैनथ्यो
तर मौनता नै संवाद थियो।
आज, जब मानिसहरू
प्रेममा सर्तहरू खोज्छन,
तिमी सम्झिन्छु‘
त्यो निस्वार्थ, चोखो दृष्टि सम्झिन्छु।
सम्बन्ध बन्न नपाउँदै
हराएका ती पलहरू,
मनभित्र अझै ‘बालक’ छन
तिमीलाई त्यस्तै रूपमा हेर्ने।
शायद
त्यो बालापनको माया नै चोखो मायाको रूप थियो।
जहाँ स्वार्थ थिएन, कामना थिएन,
वासना थिएन,
बस,
एउटा सफा नजर र
त्यसभित्रको निष्कलंक प्रेम थियो।

अक्षर आकार
राजु काश्यप
कविबारे
राजु काश्यप

अम्बिकापुर, शदिया, असम

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.